जनकपुर,२८ कातिक । मधेस प्रदेशसभामा पछिल्ला दिनहरूमा बढ्दै गएको राजनीतिक तनावका कारण उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेशसभा भवनभित्र रहेको आफ्नो सरकारी आवास छाडेर बाहिर बस्न थालेकी छन्।
उनको नजिकका स्रोतका अनुसार सुरक्षा निकायबाट जोखिमबारे सतर्क गराइएपछि उनले केही दिनअघि आवास खाली गरी जनकपुरधामकै निजी निवासमा बसोबास सुरु गरेकी हुन्।
प्रदेशसभामा सभामुखविरुद्ध दर्ता भएको पदअनुकूल आचरण नगरेको प्रस्ताव, निरन्तर बढिरहेको राजनीतिक रस्साकस्सी तथा कार्यकक्षमै सांसदहरू थुनिनुपर्ने अवस्था देखिनुजस्ता घटनाले वातावरण असहज बन्दै गएको उपसभामुख राउतको भनाइ छ।
उपसभामुखले भनिन्, “सभाभित्रको अवस्था दिनदिनै तनावपूर्ण बन्दै गइरहेको छ। विवाद चर्कने, हातपातसम्मको स्थिति बन्ने संकेत, यी सबैले माझस्तो संवैधानिक पदमा बसेकी व्यक्तिको सुरक्षाबारे गम्भीर चिन्ता उठाएको छ। सुरक्षा निकायको सुझावपछि म आवासबाट बाहिरिएँ।”
उनी हाल जनकपुरधाममै रहेको आफ्नै निजी घरमा बसिरहेकी छन्। आवास परिवर्तनले आफ्नो कार्यक्षमता वा जिम्मेवारीमा कुनै असर नपर्ने बताउँदै राउतले सबै काम सामान्य रूपमै अघि बढ्ने स्पष्ट पारिन्।
यसैबीच सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको प्रस्तावपछि सत्तापक्ष–प्रतिपक्षबीचको द्वन्द्व झनै तीव्र बनेको छ। लगातारका राजनीतिक विवादले प्रदेशसभाका नियमित गतिविधिमा प्रत्यक्ष असर परेको बताइएको छ।




