जनकपुर,२८ कातिक । मधेश प्रदेशका पूर्व प्रदेशप्रमुख राजेश अहिराज (राजेश झा) जबर्जस्ती करणी आरोपमा थुनामा रहेका बेला थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन्। २३ कात्तिकमा दर्ता गरिएको निवेदनमा उनले जिल्ला र उच्च अदालतले गरेको आदेश खारेज गरी आफूलाई कानूनअनुसार छुट्टै प्रक्रियाबाट मुक्त गर्नुपर्ने माग गरेका छन्।
अहिराजको निवेदनमाथि आगामी शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुने तय भएको छ। जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका अहिराजलाई काठमाडौं जिल्ला अदालतले साउन १४ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालतको यो आदेश उच्च अदालत पाटनमा पनि यथावत् रह्यो।
१२ भदौ २०८२ मा उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले जिल्ला अदालतको आदेश सदर गर्दै उनलाई थुनामै राखिनुपर्ने निर्णय सुनाएको थियो। यिनै दुबै आदेशविरुद्ध अहिराज सर्वोच्च पुगेका हुन्।
थुनामा पठाइएपछि उनलाई डिल्लीबजार कारागारमा राखिएको छ। एक महिलाले ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा आफूलाई बलात्कार गरेको आरोपसहित जाहेरी दिएकी थिइन्। जाहेरीपछि ४ साउनमा अहिराज पक्राउ परे।
९ दिनभित्रै अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
अहिराजले भने आफू निर्दोष भएको दाबी गर्दै जाहेरी दिने युवतीविरुद्ध नै मुद्दा दायर गरेका छन्। अहिराज मधेश प्रदेशका प्रदेश प्रमुखका रूपमा कार्यरत रहिसकेका हुन्।




