spot_img

मधेश प्रदेशका होटलमा कर्मचारी घट्दा, पर्यटक संख्या बढ्यो

spot_img
spot_img

काठमाडौं,२८ कात्तिक । गत आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशका होटलमा कार्यरत कर्मचारी संख्यामा व्यापक कटौती भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार मधेश प्रदेशका होटलहरूले २०.४२ प्रतिशतले कर्मचारी कटौती गरेको पाइएको छ ।

तर, पर्यटक आगमन संख्या भने बढेको देखिन्छ । राष्ट्र बैंकले नमुना छनोटका लागि ७ पर्यटक स्तरीय होटल छनोट गरी स्थलगत सर्वेक्षण गरेको थियो ।यस प्रदेशमा पर्यटकको यकिन तथ्यांक उपलब्ध गराउने अध्यागमन तथा पर्यटन सूचना केन्द्र नभएका कारण होटलहरूले दिएको तथ्यांकलाई नै आधार मानेर विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

मुलुकको सेवा क्षेत्रमध्ये मधेशले मात्र ११.१७ प्रतिशत हिस्सा ओगटेको छ । सेवा क्षेत्रमा सबैभन्दा धेरै योगदान बागमतीले ४ सय ३९ प्रतिशत दिने गरेको तथ्यांक छ । अघिल्लो आव मधेशमा सेवा क्षेत्रको रोजगारी ४.९९ प्रतिशतले बढेको पाइएको थियो । गत आव भने पर्यटक आगमन १८.२५ प्रतिशतले बढेर ४० हजार ३ सय ७४ पुगेको देखिएको छ । कुल पर्यटकमध्ये भारतबाट ३७ हजार ७ सय २१ र तेस्रो मुलुकबाट १ हजार ६ सय ७० आएको देखिएको छ । अघिल्लो आव पर्यटक आगमन १४.३४ प्रतिशतले बढेर ३४ हजार १ सय ४३ थियो । पर्यटक आगमन वृद्धि भएसँगै होटल व्यवसाय विस्तार भए पनि रोजगारी भने कटौती भएको देखिने राष्ट्र बैंकको विश्लेषण छ ।

राष्ट्र बैंकले मधेशमा निर्माण सुरु भएका आयोजना हुलाकी राजमार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग, राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न सके त्यसले यस प्रदेशको विकासमा ठूलो फड्को मार्ने उल्लेख गरेको छ ।

खुला सीमाना व्यवस्थापन गरी स्थानीय उत्पादनको बजार संरक्षणको सुझाव समेत केन्द्रीय बैंकले दिएको छ । मधेशमा भारतीय पर्यटक आगमन बढाउन सकिने सम्भावना समेत बैंकले औँल्याएको छ । जानकी मन्दिर, धनुषाधाम मन्दिर, गढीमाई मन्दिर, कंकालिनी मन्दिर, छिन्नमस्ता भगवती मन्दिरले ठूलो संख्यामा भारतीय पर्यटक आकर्षित गर्न सक्ने सम्भावना केन्द्रीय बैंकले औँल्याएको छ ।

धेरै तालतलैया तथा पोखरी रहेको जनकपुर धाम मधेश प्रदेशमा रहेकाले यहाँ अवस्थित पोखरीको सरसफाइ, विभिन्न जलचर पालन, जलक्रिडाका लागि पूर्वाधार विकास तथा सडक पूर्वाधार सुधार र गुणस्तरीय होटल तथा रेस्टुरेन्ट स्थापना गरी जल मनोरञ्जन क्रियाकलाप बढाउन सकिने सम्भावना समेत औँल्याइएको छ । मधेशका सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ७२ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय