spot_img

रास्वपामा फेरि हलचल : नेता सन्तोष परियारले पार्टी छाडे

spot_img
spot_img

काठमाडौं,२८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्। परियारले पार्टीबाट राजीनामा दिएर छुट्टै राजनीतिक अभियान सुरु गर्ने तयारीमा रहेको बताएका छन्।

उनी विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक थिए। परियारले आफ्नो सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन्।

पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको मागसम्बन्धी बहसमा परियार सक्रिय रहेको स्रोतले जनाएको छ। चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत उठाएका थिए।

रास्वपा स्रोतका अनुसार परियारको पृष्ठभूमि कम्युनिस्ट भएकाले उनी जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव, मानुषी यमी लगायतसँग संवादमा रहेका छन्।

यसअघि पनि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी छाडेकी थिइन्। श्रेष्ठले भनेकी थिइन्, “अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडेँ।”

पार्टीभित्र असन्तुष्टि र विभाजनका संकेत बढ्दै गएको बेला यो कदमले रास्वपामा थप हलचल मच्चाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय