वीरगन्ज,२८ कात्तिक । पर्साको जिराभवानी गाउँपालिका–५ सखुनियाका ३८ वर्षीय विजय महतो नुनियालाई उपकार सेवा नेपालले ह्वील चेयर प्रदान गरेको छ । विजय महतो नुनिया रुखमा चढेर स्याउला काट्ने क्रममा खसेर घाइते भएपछि शारिरिक रुपमा असक्त भएपछि उपकार सेवा नेपालले ह्वील चेयर प्रदान गरेको हाे ।
चार वर्ष पहिले नुनिया गाईवस्तुका लागि स्याउला काट्न रुखमा चढेका बेला खसेर घाइते भएका थिए ।स्पाइनल इन्जुरी भएर शारिरिक रुपमा पूर्ण रुपमा असक्त भएका नुनिया चार वर्षदेखि ओछ्यानमा परेको थाहा पाएपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा उपकार सेवा नेपालले ह्वील चेयर सहयोग गरेको हो ।
उपकार सेवा नेपालकी अध्यक्ष बिद्या कुमारी सरावगीले वीरगन्जस्थित आफ्नै घरमा नुनियालाई बोलाएर ह्वील चेयर प्रदान गरेको थारुले जानकारी दिए ।




