जनकपुर,२८ कात्तिक । मधेश प्रदेशमा पछिल्ला राजनीतिक उतार–चढावले गम्भीर असर पारिरहेको भन्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सबै पक्षलाई संयमित र जिम्मेवार राजनीतिक व्यवहार गर्न आग्रह गरेका छन्। बिहीबार पदभार ग्रहण गरेलगत्तै शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेशमा बढ्दो अनिश्चितता र अविश्वासले शासन–प्रशासनदेखि विकासका कामसम्म प्रभावित भइसकेको बताए।
प्रदेश प्रमुख लाभले समाज निरन्तर गतिशील रहने भएकाले राजनीतिक आरोह–अवरोह स्वाभाविक भए पनि अनुशासन, संयमता र दृढताका साथ साझा गन्तव्यतर्फ अघि बढ्नु आवश्यक रहेको टिप्पणी गरे। उनले भने, “प्रदेशमा बढ्दो अशंका र आक्रोशले समग्र कार्य प्रणाली प्रभावित भइरहेको छ। सहअस्तित्व, समन्वय र सहकार्यलाई आत्मसात् गर्दै एक–अर्काको अस्तित्व र मर्यादालाई सम्मान गर्नुपर्छ।”
संघीयता कार्यान्वयनमा मधेशले सदैव अग्रणी भूमिका निभाएको स्मरण गर्दै प्रदेश प्रमुखले यहाँका नागरिक, राजनीतिक नेतृत्व र प्रदेश सरकारकै काधमा संघीय अभ्यासलाई सुदृढ बनाउने मुख्य जिम्मेवारी रहेको उल्लेख गरे।
वर्तमान राजनीतिक विवादलाई विधिसम्मत रूपमा समाधान गर्दै सुशासन, शिक्षा, स्वास्थ्य र समुन्नति प्राप्त गर्ने साझा अभियानमा सबै शक्ति केन्द्रहरू राजनीतिक दल, जनप्रतिनिधि, पत्रकारिता क्षेत्र, बुद्धिजीवी, व्यवसायी, नागरिक समाजदेखि सरकारी कर्मचारीसम्म एकजुट हुन उनले आह्वान गरे।



