रौतहट,२९ कातिक । जिल्लावासीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रौतहटले आज शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा खुला रहने जनाएको छ।
शुक्रबार जारी गरिएको सूचनामा निर्वाचन आयोगले राष्ट्रिय परिचय नम्बरको आधारमा मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था लागू भएपछि सेवाग्राहीको चाप बढ्न थालेकाले शनिबारसमेत सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीको हस्ताक्षरित सूचनामा नागरिकलाई नियमित कार्यालय समयभित्र उपस्थित भई आवश्यक विवरण दर्ता गराउन आग्रह गरिएको छ।
जिल्ला प्रशासनका अनुसार शनिबार सेवा विस्तारले कार्यदिवसमा समय निकाल्न नसक्ने नागरिकलाई विशेष लाभ हुने अपेक्षा गरिएको छ।




