रौतहट,२९ कातिक । रौतहटमा करिब १० बिघा जग्गा किर्ते प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केशर प्रसाद पौडेलले दर्ता गराएको जाहेरीको आधारमा कटहरिया नगरपालिका–१ मा अवस्थित ९ बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलका २४ कित्ता जग्गा किर्ते खडा गरी अवैध रूपमा नामसारी गरेको आरोपमा हेटौंडा उपमहानगर–८ का ५२ वर्षीय राधाकृष्ण उपाध्याय पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार उपाध्यायले अदालतको फैसला समेत किर्ते खडा गरी त्यसकै आधारमा जग्गा आफ्नो नाममा दर्ता गरेका थिए। फरार अवस्थामा रहेका उनलाई प्रहरीले कात्तिक २३ गते पक्राउ गरी शुक्रबार जिल्ला अदालत गौरमा पेस गरेको छ।
यसअघि सोही घटनामा संलग्न कटहरिया–१ का ४२ वर्षीय रामपुकार महतो कोइरीलाई कात्तिक १३ गते नै प्रहरीले नियन्त्रणमा लिएको थियो। दुवैविरुद्ध लिखितसम्बन्धी कसुर तथा किर्ते जग्गा दर्ता मुद्दामा अनुसन्धान जारी रहेको डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार दुवै अभियुक्त लामो समयदेखि फरार रहेर लुकिछिपी बस्दै आएका थिए।




