spot_img

धनुषामा वडाध्यक्षको गोली प्रहारपछि मृत्यु, गोली चलाउने प्रहरी जवान नियन्त्रणमा

spot_img
spot_img

जनकपुर, २९ कात्तिक । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहारबाट मृत्यु भएको छ। शुक्रबार साँझ अन्दुपट्टीमा आयोजित मृत्यु संस्कार (१३औँ दिनको तिथि)मा सहभागी रहेका बेला भएको विवादपछि उनलाई गोली हानिएको हो।

स्थानीयका अनुसार विवाद स्थानीय धर्मराज यादवले वडाध्यक्षलाई गालीगलौज गरेपछि सुरु भएको थियो। विवाद उग्र हुँदै गएपछि धर्मराजका आफन्त तथा प्रहरी जवान शम्भु यादवले वडाध्यक्षमाथि गोली प्रहार गरेका हुन्।

गोली लागेर गम्भीर घाइते भएका वडाध्यक्ष यादवलाई उपचारका लागि प्रदेश अस्पताल जनकपुर पुर्‍याइएको थियो, तर अस्पताल पुगेलगत्तै उनको मृत्यु भएको हो।

घटनापछि फरार भएका प्रहरी जवान शम्भु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी धनुषाकै एक प्रहरी चौकीमा कार्यरत रहेर बिदामा घर आएका थिए। उनले बिदामा आउँदा प्रहरीकै हतियार बोकेको हुनसक्ने प्रारम्भिक आशंका प्रहरीले व्यक्त गरेको छ।

धनुषा प्रहरीका प्रवक्ता, नायब उपरीक्षक गणेश बमका अनुसार घटनामा “३–४ जनाको संलग्नता हुनसक्ने” स्थानीय बयानहरूका आधारमा अनुसन्धान अघि बढाइएको छ।उनका अनुसार अहिले एक व्यक्ति नियन्त्रणमा छन् र थप संलग्नताबारे प्रहरीले तथ्य संकलन गरिरहेको छ।

घटनामा वडाध्यक्षसहित ७ जना घाइते भएका छन्। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय