बीरगन्ज,२९ कातिक । दोस्रो पटक अभियान सञ्चालन गरिएपछि पर्सामा हैजा रोगको महामारीविरुद्धको प्रतिकार्य खोप अभियानले ९० प्रतिशत सफलता पाएको छ।
बिहीबार सम्पन्न अभियान अन्तर्गत कूल ९० प्रतिशत लक्षित जनसंख्याले खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए । कात्तिक १३ देखि पुनः सञ्चालन गरिएको अभियान बिहीबार सम्पन्न भएको थियो । छठ अघि सञ्चालित अभियानले ८४ प्रतिशत मात्र कभरेज पाएको थियो ।
हाल थप ७ प्रतिशत बढेर कभरेज ९० प्रतिशत पुगेको हो । ठाकुरले प्रायः जिल्लाका सबै स्थानीय तहमा उस्तै कभरेज देखिएको बताए । १० प्रतिशतले खोप नलिने कारणमा जागरुकता प्रमुख कारण रहेको उनले बताए । ‘खोप आफ्नै सुरक्षाको लागि हो भन्ने जागरुकता कतिपयमा देखिएन,’ उनले भने, ‘तीनले जति अनुरोध गर्दा पनि खोप लिनै मानेनन् ।’ छठ अघि सञ्चालन गरिएको अभियानको क्रममा कूल ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप दिने लक्ष्य रहेकामा ५ लाख ४७ हजार ३ सय ११ जनाले मात्र खोप लिएका थिए ।
जिल्लाका १४ वटै स्थानीय तहमा एकैसाथ यो अभियान सञ्चालन गरिएकामा सबैभन्दा बढी जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत र सबैभन्दा कम जिरा भवानी गाउँपालिकामा ७८ प्रतिशत कभरेज भएको थियो । छिपहरमाई गाउँपालिकामा ९३,बिन्दवासिनी गाउपालिकामा ९१, सखुवाप्रसौनी गाउँपालिकामा ८८, ठोरी गाउँपालिकामा ८६, पटेर्वासुगौली र धोबिनी गाउपालिकामा ८५र८५, पर्सागढी नगरपालिकामा ८४, पोखरिया नगरपालिकामा ८३, वीरगन्ज महानगरपालिकामा ८२ प्रतिशत सफलता मिलेको थियो । हाल दोस्रो पटक सञ्चालित अभियानको कभरेजको अन्तिम नतिजा आउन थप केही समय लाग्ने ठाकुरले बताए ।
वीरगन्जमा फैलिएको हैजा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह आईसीजीसँग खोपको माग गरेको थियो । परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा पर्सा र बारामा यो अभियान सञ्चालन गरिएको थियो । इयूभिकोल–एस खोप एक मात्रा खुवाएको दुई सातापछि ८२ प्रतिशत प्रभावकारी हुन्छ ।
गत भदौ ६ गतेदेखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको थियो । खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । अभियानमा १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएका थिए ।
हालसम्म वीरगन्ज महानगरमा १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी वीरगन्जको विभिन्न अस्पतालमा उपचारार्थ आएकोमा ती मध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । यस बाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
परीक्षणहरूबाट वीरगन्जको विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जीवाणु फेला परेको छैन । हाल सम्म वीरगन्जमा फैलिएको हैजाको श्रोत पनि पत्ता लाग्न सकेको छैन ।



