जनकपुर, २९ कात्तिक । मधेस प्रदेशमा बढ्दो राजनीतिक अस्थिरता र अनिश्चितताको बीचमा प्रदेश प्रमुख सुरेन्द्र लाभले आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे शुरु हुने जानकारी प्राप्त भएको छ।
प्रदेश प्रमुख लाभले बैठक प्रदेशको वर्तमान राजनीतिक अवस्था, दलहरूबीच बढ्दो अविश्वास, सरकार गठन र सञ्चालनमा देखिएको जटिलता विषयमा व्यापक छलफल गर्न आह्वान गरेको स्रोतले जनाएको छ।
हाल प्रदेशसभामा सत्ता समीकरण अस्थिर हुँदै गएको, नेतृत्व परिवर्तनका सम्भावना बढ्दै गएको, र प्रमुख दलहरूबीच आरोप–प्रत्यारोपको स्तर तीव्र बनेको पृष्ठभूमिमा प्रदेश प्रमुखको पहललाई राजनीतिक विश्लेषकहरूले महत्त्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरेका छन्।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ। विश्लेषकहरूको धारणा अनुसार यस बैठकबाट निकालेको निष्कर्षले मधेस प्रदेशको आगामी राजनीतिक दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।



