जनकपुर,२९ कातिक । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेसवादी दलहरूलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्री यादवले प्रदेशवासीका नाममा सम्बोधन गर्दै भने, “हरेक समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट मात्र आउँछ। आन्दोलन रोकेर सहकार्य र समन्वयका साथ अघि बढ्न सबैलाई आवश्यक छ।”
उनी हालको राजनीतिक अस्थिरतामा संवैधानिक निकाय प्रमुख तथा मुख्यमन्त्री आफैंको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको बताए। आन्दोलनरत दलहरूबीच मुठभेडको अवस्था हुन सक्ने चेतावनी दिँदै उनले समस्या समाधानको उत्तम माध्यम वार्ता रहेको स्पष्ट पारे।
मुख्यमन्त्री यादवले आन्दोलनरत दलहरूको कुनै ठोस एजेण्डा नरहेको उल्लेख गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरी कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने बताएका छन्। उनले भने कि आफू नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षा भित्र भए पनि आन्दोलनकारीको उग्र गतिविधिका कारण स्थिति मुठभेडतर्फ जान सक्ने भएकाले सबैलाई वार्तामा फर्किन आह्वान गरे।
यादवले पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार स्वार्थका कारण ढलेको पनि बताए। सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने जनाउँदै उनले आफू सदैव संविधान र संघीयताको पक्षमा रहेको बताए।





