लमजुङ, २९ कात्तिक । एमालेका उपमहासचिव तथा पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् पुनःस्थापना नभएसम्म आगामी निर्वाचन असम्भव रहेको बताएका छन्।
शनिबार प्रेस चौतारी नेपाल, लमजुङ शाखामा आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले चुनावका लागि आवश्यक वातावरण निर्माण गर्न असफल भएको आरोप लगाए। उनले भने, “मतदाता नामावली संकलनले मात्र चुनाव हुँदैन। संसद् पुनःस्थापना गरेर सर्वपक्षीय सरकार गठन गर्न र जेनजीका माग सम्बोधन गरेरमात्रै चुनाव सम्भव छ।”
गुरुङले जेनजी आन्दोलनका क्रममा हतियार, गोली र कैदीबन्दी अझै नियन्त्रणबाहिर रहेकोले शान्तिपूर्ण, भयरहित निर्वाचन सम्भव नभएको बताए। “अपराधी समूहका हातमा हतियार रहँदा कसरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ?” उनले प्रश्न उठाए।
पूर्वमन्त्री गुरुङले जेनजी आन्दोलनलाई कम्युनिस्ट, गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिमाथि योजनाबद्ध हमला गर्न मोहरा बनाइएको दाबी गरे। वर्तमान सरकारलाई उनले संविधानलाई कोमामा पुर्याएर विदेशी शक्तिको अनुकूलमा सञ्चालन भएको भन्दै आलोचना गरे।
साथै, उनले अमेरिकाले चीनविरुद्ध लड्न नेपाल प्रयोग गर्न खोजेको र त्यसका कारण पूर्व सरकारले दबाबमा परेको आरोप लगाए। उनले हालका हिंसात्मक घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए।
उनी आफ्नो व्यक्तिगत अनुभवसमेत सुनाउँदै भौतिक तथा आर्थिक क्षति उजागर गरे। गुरुङले भने, “छोराबुहारीको कमाइ, ऋणधनमा बनेको घर, लुगा र भाँडाकुँडा, श्रीमती र बुहारीको सुन सबै लुटियो। घर जलाइयो र भाडामा बस्न डरले डेरा गर्न सकिएन।”
उनले भ्रष्टाचार गरेको प्रमाण भए राजनीतिबाट संन्यास लिन तयार रहेको स्पष्ट पारे। साथै, एमाले र कांग्रेसले स्थिर सरकार बनाएको भए पनि बाह्य शक्तिले विध्वंश मच्चाएको आरोप लगाएका छन्।



