बीरगन्ज, २९ कात्तिक । बीरगन्जभन्सार कार्यालयअन्तर्गत सिर्सिया सुक्खा बन्दरगाहमा ६ वर्षदेखि अलपत्र परेका १८५ कन्टेनर फिर्ता गर्न अन्तर्राष्ट्रिय सिपिङ कम्पनीहरूले भन्सार कार्यालयलाई दबाब दिएका छन्।
भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार, कोरोना महामारीअघि २०७६ सालमा तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तुहरूको वास्तविक आयातकर्ता वा कम्पनी सम्पर्कमा नआएपछि कन्टेनरहरू बन्दरगाह परिसरमा थन्किएका हुन्। “कन्टेनरमा रहेका मालवस्तु जाँचपासका लागि आयातकर्ताले घोषणा नै गरेका छैनन्। यस्तो अवस्थामा ती कन्टेनर बेवारिस हुन सक्ने अवस्था छ,” उनले भने।
बन्दरगाहको पूर्व–दक्षिण कुनामा राखिएका यी कन्टेनरबाट कतिपय ठाउँमा दुर्गन्धसमेत आइरहेको छ। मालवस्तुको व्यवस्थापन नभएसम्म कन्टेनर खाली नहुने अवस्था छ। ज्ञवालीले प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकको संयोजकत्वमा समिति गठन गरी मालवस्तु नष्ट गर्ने प्रक्रिया सम्बन्धी प्रतिवेदन तयार गर्ने र त्यसपछि निर्णय लिने जानकारी दिए।
आर्थिक ऐन अनुसार, आयातकर्ताले आफ्नो कन्टेनर भन्सार बिन्दुमा ल्याएर जाँचपास गराउने व्यवस्था भए पनि हालसम्म सम्पर्कमा नआएपछि १८५ कन्टेनर बेवारिस मालवस्तुका रूपमा नष्ट गर्नुपर्ने अवस्थामा छन्।
सुरुमा कुल २२० कन्टेनरमा मालवस्तु थन्किएकोमा १७ कन्टेनर बिक्री भइसकेको, तीनवटा फिर्ता पठाइसकिएको र बाँकी १८५ कन्टेनर अझै अलपत्र रहेका छन्। यी कन्टेनरमा केराउ, छोकडा, पोस्ता दाना, सुपारी, फिड सप्लिमेन्ट, मुसुरो दाल, चना, ओखर, उडन टुथ ब्रस, बफेलो हर्न, मुंग दाल र डियो स्प्रे समावेश छन्।
यी कन्टेनर स्थानीय प्रशासन, सरकारी कार्यालय र सरोकारवाला निकायको रोहबरमा सिलबन्दी गरेर राखिएका छन्। केही मालवस्तु अखाद्य भएकाले प्रयोगशालाबाट प्रतिवेदन आएपछि मात्रै नष्ट गर्ने निर्णय लिन सकिने ज्ञवालीले बताए।



