जनकपुर,३० कातिक । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री सरोजकुमार यादवका पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मित्रराष्ट्रहरूलाई दोषारोपण गर्नु नेपाली राजनीतिको दुर्भाग्य भएको टिप्पणी गरेका छन्।
रेडियो वीरगन्जसँगको कुराकानीमा राउतले नेकपा एमालेका केही नेताहरू लोकप्रियता हासिल गर्ने नाममा भारतसहित सहयोगी छिमेकी राष्ट्रहरूप्रति लाञ्छना लगाइरहेको आरोप लगाए। उनका अनुसार, आन्तरिक विवाद समाधान गर्नुपर्ने ठाउँमा दूतावास वा महावाणिज्यदूताबासलाई नकारात्मक रूपमा टिप्पणी गर्नु औचित्यहीन छ।
राउतले संविधानको धारा १६८(२) को व्याख्या नबुझेका कारण सरकार गठनमा समस्या बढेको दाबी गर्दै, त्यसका लागि बाह्य पक्षलाई दोष दिनु सही मार्ग नहुने बताए। उनका अनुसार सर्वोच्च अदालतको व्याख्या विपरीत सरकार गठन हुँदा मधेश प्रदेशका प्रदेश प्रमुख पदमुक्त हुनुपरेको उदाहरण नै पर्याप्त छ, तर यसमा गल्ती स्वीकार्नुभन्दा छिमेकीलाई दोष दिन खोजिनु राजनीतिक दुर्भाग्य हो।
मुख्यमन्त्री सरोजकुमार यादवले केही दिनअघि सरकार गठनको प्रक्रियामा महावाणिज्यदूताबासको हस्तक्षेप हुने र पार्टी फुटाइदिने धम्की समेत देखिने अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिपछि पूर्व मुख्यमन्त्री राउतको यस्तो प्रतिक्रिया आएको हो।
राउतले वर्तमान नेतृत्वले आन्तरिक कमजोरी सच्याएर स्थिरता र सहकार्यमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।





