काठमाडौँ,३० कातिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको वर्तमान अवस्था अत्यन्तै जटिल र कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत् आफ्ना विचार सार्वजनिक गर्दै उनले नेपाल र नेपालीको मनोबल इतिहासकै कमजोर बिन्दुमा पुगेको दाबी गरे।
उनका अनुसार, राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र र संस्कृतिदेखि नेपालीहरूको मनोबलसम्म अहिले अत्यन्त अस्थिरता र अन्योलको अवस्थाबाट गुज्रिरहेको छ।
डा. भट्टराईले राजनीतिक दल र नेताहरूबीच भइरहेका निरन्तर आरोप–प्रत्यारोप र स्वार्थका खेलप्रति असन्तोष जनाउँदै भने,
“घरमा आगो लागिरहेको बेला को ठुलो कोठामा सुत्ने, कसले बढी भाग खाने भनेर लड्ने समय होइन। सबै मिलेर आगो निभाउने र अझ सुन्दर घर बनाउन प्रतिवद्ध हुने समय हो।”
उनले सबै राजनीतिक शक्तिलाई गम्भीर आत्मसमीक्षामा बस्न आग्रह गर्दै चेतावनी दिए,
“यदि आज पनि सबैले गम्भीरतापूर्वक आत्मसमिक्षा गर्न सकेनन् भने इतिहासले कसैलाई पनि क्षमा गर्ने छैन।”




