जनकपुर,३० कातिक । मधेस प्रदेशको राजनीतिक अस्थिरताप्रति आक्रोश व्यक्त गर्दै जनकपुरधामका युवाहरूले प्रदेशसभा विघटन गरी राष्ट्रपति शासन लागू गर्न माग गरेका छन्। राजनीतिक किचलो, बढ्दो भ्रष्टाचार र शासन प्रणालीप्रति जनताको मोहभङ्गलाई कारण देखाउँदै उनीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्र लाललाई आइतबार ज्ञापनपत्र बुझाएका हुन्।
युवाहरूको समूहले पछिल्लो समय मधेस राजनीतिमा देखिएको ‘सत्ता–खेल’, बेथिति र अनैतिक गतिविधिले मधेसी जनताको जनविश्वास कमजोर बनाएको दाबी गरेको छ। ज्ञापनपत्रमा उल्लेख छ, “राजनीतिक नाटक र अस्थिरताले जनता आजित भएका छन्, यस्तो अवस्थामा राष्ट्रपति शासन नै उपयुक्त विकल्प देखिन्छ।”
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि प्रदेशमा बढ्न थालेको सत्ताको रस्साकस्सीले संघीयताको छवि समेत खराब भएको युवाहरूको भनाइ छ। उनीहरूले प्रदेशसभा विघटन गरी नागरिक सरकार वा राष्ट्रपति शासनमार्फत नयाँ निर्वाचनको मार्ग खुला गरिनुपर्ने माग गरेका छन्।
प्रदेश प्रमुख कार्यालयले ज्ञापनपत्र बुझेको र विषय सम्बन्धित निकाय हुँदै संघीय तहसम्म जानकारी गराइने जनाएको छ।



