जनकपुर,३० कातिक । सरकारले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय लिएपछि आन्दोलित उद्योगी–व्यवसायीले आइतबार सप्तरी जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिए। सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वमा उनीहरू कार्तिक २० गतेदेखि निरन्तर आन्दोलनमा छन्।
कार्यक्रमअनुसार उद्योगी–व्यवसायीले आइतबार एक घण्टा प्रशासन कार्यालयअगाडि शान्तिपूर्ण धर्ना बसे। सरकार गम्भीर नबने थप कडा आन्दोलनको तयारी रहेको संघका महासचिव अमृत संचेतीले चेतावनी दिए। “आन्दोलनका आगामी कार्यक्रम छलफलपछि घोषणा गरिनेछ,” उनले बताए।
यसअघि गजेन्द्रनारायण सिंह चोकमा प्रदर्शन, चक्काजाम र बजार बन्दसमेत गरेका उद्योगी–व्यवसायीले कार्तिक २२ देखि २७ गतेसम्म सोही चोकमा धर्ना बसेर हस्ताक्षर सङ्कलन गरेका थिए। संकलित हस्ताक्षर २७ गते मौन जुलुससहित प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रीलाई बुझाएपछि उनीहरूले २८ गतेदेखि कारोबारस्थलमा कालो झण्डा र कालोपट्टी बाँधेर विरोध जारी राख्दै आएका छन्।



