काठमाडौँ,०१ मंसिर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले तयार पारेको आचारसंहितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ–आइएनजिओ) लाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरिएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले प्रस्ताव गरेको आचारसंहिताको बुँदा नम्बर १२ मा गैरसरकारी संस्था र विकास साझेदार संस्थाका पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने ९ वटा आचरण स्पष्ट रूपमा उल्लेख गरिएको छ।
यस प्रावधानअनुसार एनजिओ–आइएनजिओका कर्मचारी, परियोजना प्रमुख वा पदाधिकारीले प्रत्यक्ष वा परोक्ष रूपमा दल–उम्मेदवारलाई समर्थन वा विरोध गर्ने गतिविधि गर्न पाउने छैनन्।
आयोगका अनुसार विकास साझेदार संस्था र गैरसरकारी क्षेत्रले तटस्थता कायम गर्नुपर्नु लोकतान्त्रिक प्रक्रियाको निष्पक्षता सुनिश्चित गर्ने महत्वपूर्ण आधार हो।



