बीरगन्ज,०१ मंसिर । पटेर्वा सुगौली गाउँपालिकाको कार्यालय अब आफ्नै नवनिर्मित तीन तल्ले प्रशासनिक भवनबाट सञ्चालनमा आएको छ।
साढे तीन वर्षदेखि वडा नम्बर ४, दापासुगौलीस्थित गुदरीबाबा मन्दिरको सामुदायिक भवनमा सञ्चालन भइरहेको कार्यालय सोमबारदेखि नयाँ भवनमा स्थानान्तरण गरिएको हो। नवनिर्मित भवनको पूजापाठ गाउँपालिका अध्यक्ष दिनेश चौधरीले हिन्दू परम्पराअनुसार सम्पन्न गरेपछि कार्यालयका दैनिक कामकाज नयाँ भवनबाट सञ्चालनमा आएको गाउँपालिका उपाध्यक्ष ममता महत्तो चौधरीले जानकारी दिइन्।
तीन तल्ले भवनको निर्माणमा करिब ६ करोड ९ लाख रुपैयाँ खर्च भएको छ। संघीय सरकारको शहरी विकास मन्त्रालयले ६० प्रतिशत (३ करोड ६० लाख रुपैयाँ) र गाउँपालिकाले ४० प्रतिशत योगदान गरेको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए।
भवनमा २० वटा कार्यालय कोठा, दुई सभाकक्ष, एउटा न्यायिक इजलाश, शौचालय लगायतका सुविधा रहेका छन्। उपाध्यक्ष महत्तोका अनुसार, नयाँ भवनले प्रशासनिक कामकाज सञ्चालनमा सहजता ल्याउने मात्र नभई सेवाग्राहीलाई पनि सहज सेवा उपलब्ध गराउनेछ।
भवनको औपचारिक उद्घाटन भने सम्भवत् मंसिर महिनाभित्र भव्य समारोहको माध्यमबाट गरिने तयारी भइरहेको अध्यक्ष चौधरीले बताए।
सोमबारको पूजापाठ कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडा अध्यक्ष विजय गैरे, विभिन्न शाखाका प्रमुख र कर्मचारीहरूको उपस्थिती रहेको थियो।



