काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५ सयभन्दा बढी प्रहरी परिचालित गरिएको छ।
काठमाडौं प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईका अनुसार, आइतबार रातिदेखि नै सुरक्षा योजनासहित जिल्लाबाट प्रहरी टोली खटाइएको छ। “१२३० भन्दा बढी प्रहरी अनुसन्धान, ट्राफिक, सीसीटीभी निगरानी र ड्रोनमार्फत सुरक्षा व्यवस्था सम्हाल्ने काममा खटिएका छन्,” उनले बताए।
एसपी भट्टराईले जानकारी दिए अनुसार, मुख्य गेटबाट मात्र खेलाडी र वीआईपीलाई प्रवेश दिइएको छ भने अन्य तीन गेटबाट दर्शक प्रवेश गर्ने व्यवस्था गरिएको छ। उद्घाटन खेलका लागि २५५ प्रहरी सशस्त्र प्रहरीबाट परिचालित छन्।
आजको उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी छन्, जसले एकअर्काविरुद्ध खेल्नेछन् र शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।
प्लेअफ तालिका अनुसार, क्वालिफायर १ मंसिर २३, इलिमिनेटर मंसिर २४, क्वालिफायर २ मंसिर २५ र फाइनल मंसिर २७ मा हुनेछ।
त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर क्यानले यस मैदानमा यसअघि पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू आयोजना गरिसकेको छ।



