काठमाडौं,०२ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा अध्यागमन कर्मचारीको अभावले दैनिक हजारौँ यात्रु कागजात जाँचमा समस्यामा परिरहेका छन्। डेढ दर्जनभन्दा बढी अध्यागमन डेस्क खाली बस्दा आगमन र प्रस्थान दुवैतर्फ यात्रुको लामो लाइन देखिने गरेको छ।
विमानस्थलमा ४५ वटा अध्यागमन डेस्क छन् तर पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक १३५ कर्मचारीको तुलनामा अहिले केवल १११ जना मात्र कार्यरत छन्। जनशक्ति अभावका कारण सुचारु सेवा प्रवाहका लागि बनाइएका संरचना पनि प्रभावकारी रूपमा प्रयोग हुन सकेका छैनन्।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार भिजिट भिसाको आवरणमा हुने अनियमितता नियन्त्रणमा कडाइ गरेपछि कर्मचारीहरू व्यापक रूपमा सरुवा माग्दै गएका छन्। एक वर्ष नपुग्दै २ उपसचिवसहित २३ जना कर्मचारी सरुवा भइसकेको उनले बताए।
विगतमा अध्यागमन शाखालाई ‘आकर्षक’ मान्ने केही कर्मचारी अहिले सरुवातर्फ मोडिनु भिजिट भिसा सुधारका पहलप्रति असन्तुष्टि संकेत गर्ने संकेतका रूपमा गृह मन्त्रालयले लिएको छ।
दैनिक १९ हजारभन्दा बढी यात्रु आवागमन हुने TIA मा जनशक्ति कमीका कारण सेवा अझै अव्यवस्थित बनेको छ। विभागले ओएन्डएम सर्वेक्षणमार्फत दरबन्दी बढाउने प्रक्रिया अघि बढाइरहेको भए पनि तत्काल समस्या समाधान नहुँदै यात्रुहरूको असहजता बढिरहेको छ।
यसैबीच, अध्यागमन विभागले आवश्यक कागजात पूरा गरेका यात्रुलाई कुनै बहाना बनाएर अफलोड गर्ने एयरलाइन्समाथि कडा कारबाही गरिने चेतावनीसहित आन्तरिक परिपत्र जारी गरेको छ।



