काठमाडौँ,०२ मंसिर । सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले मंगलबार सिंहदरबारमा बसेर उक्त निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
त्यसैगरी, बैठकले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट करिब ५ मिलियन अमेरिकी डलर र स्विट्जरल्याण्ड सरकारबाट करिब २ दशलव १ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।
नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी अध्ययन गरी सुझाव पेस गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
मन्त्रिपरिषद्ले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम गर्ने तथा सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।



