काठमाडौँ,०२ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै यसको विरुद्ध पार्टीले एकसाथ कानुनी लडाइँ र सडक सङ्घर्ष गर्ने घोषणा गरेका छन्।
मंगलबार विघटित एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले वर्तमान सरकारलाई ‘असंवैधानिक’ भन्दै हटाउन कुनै सम्झौता नहुने स्पष्ट पारे। उनले भने, “हामीले गर्ने सङ्घर्ष शान्तिपूर्ण, संवैधानिक र जनताको जीवन–मालको रक्षा गर्ने किसिमको हुनेछ। भदौ २३ र २४ गतेको आन्दोलन देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ बिन्दु मात्र हो।”
ओलीले देशद्रोही गतिविधि चुपचाप हेर्न नसकिने उल्लेख गर्दै संविधान र लोकतन्त्रको पक्षमा उभिन दुईवटा कदम चाल्नुपर्ने औँल्याए। उनका अनुसार, पार्टीले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि निर्णय गरिसकेको छ र वर्तमान सरकारले संविधान उल्लङ्घन गरेको भएकाले कानुनी उपचार खोज्ने प्रक्रिया अघि बढाउने छ।
पूर्वप्रधानमन्त्री ओलीले संविधानका आधारमा विघटन पूर्ण रूपमा असंवैधानिक भएको दाबी गर्दै, पुनर्स्थापना बाहेक अर्को संवैधानिक विकल्प नरहेको पनि बताए।



