जनकपुर,०३ मंसिर । लामो समयदेखि अवरुद्ध हुँदै आएको मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। उपसभामुख बबिता राउत इसरको निर्देशनअनुसार प्रदेशसभा सचिवालयले बैठक बोलाएको हो। यस बैठकमा सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादाअनुकूल आचरण नगरेको आरोपसम्बन्धी प्रस्तावमाथि छलफल हुने सचिवालयले जनाएको छ।
मंगलबार मधेस प्रदेशका विभिन्न दलका ३२ प्रदेशसभा सदस्यहरूले उपसभामुख इसरलाई बैठक बोलाउन औपचारिक माग गरेका थिए। विपक्षी दलका तर्फबाट सांसद भरतप्रसाद साहले हस्ताक्षरसहित मंसिर ३ गते बुधबार बैठक आह्वान गर्न मागपत्र बुझाएका थिए। प्रदेशसभा नियमावलीअनुसार कुल सदस्यको २५ प्रतिशतले माग गरेमा उपसभामुखले बैठक बोलाउनुपर्ने कानुनी व्यवस्था छ।
सभामुख मण्डलविरुद्ध सात दलले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै महाभियोगसमान प्रस्ताव दर्ता गरेका छन्। कात्तिक २७ गते साँझ सभामुखले प्रदेशसभा सदस्यमाथि दुर्व्यवहार गरेको आरोपपछि कर्मचारी कार्यालयमा नआएपछि प्रदेशसभाको समग्र कामकाज ठप्प भएको थियो।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले ६४ प्रदेशसभा सदस्यहरूको समर्थनमा प्रस्ताव दर्ता भएको दाबी गर्दै उपसभामुखसँग छलफल भएको बताए। उनले सभामुखले प्रस्तावमाथि छलफल हुन नदिन वातावरण अवरुद्ध बनाएको आरोप लगाए। माओवादी केन्द्रका नेता भरतप्रसाद साहले प्रस्ताव दर्ता भएको सात दिनभित्र छलफल भई प्रक्रियामा जानुपर्ने भएकाले बैठक अत्यावश्यक रहेको बताए। उनले सभामुखले कर्मचारीलाई बन्दी बनाएर फाइलसमेत हराएको आरोप लगाए।
उपसभामुख राउतले कर्मचारी अनुपस्थितिले काममा अन्योल उत्पन्न भए पनि ३२ सदस्यको हस्ताक्षर पाएपछि कानुनअनुसार बैठक बोलाउन सकिने स्पष्ट गरिन्।
तर, सभामुख मण्डलले भने प्रस्ताव दर्ताको प्रक्रिया विधिवत् नभएको दाबी गर्दै विधि मिचेर ल्याइएका निवेदन स्वीकार नहुने प्रतिक्रिया दिएका छन्।




