वीरगञ्ज । दुई वर्षअघि जसपा नेपालबाट अलग भई गठन गरिएको जनता समाजवादी पार्टी ९जसपा० पुनः विभाजनको संघारमा पुगेको छ। पार्टीभित्र एकता, सहकार्य र आगामी राजनीतिक यात्राबारे गहिरो मतभेद बनेसँगै शीर्ष नेताहरू दुई विपरीत धारमा उभिइरहेका छन्।
स्रोतहरूका अनुसार अध्यक्ष अशोक राई, नेता राजेन्द्र श्रेष्ठ र कार्यकारिणी सदस्य पशुराम बस्नेत नेकपा ९माओवादी केन्द्र० सँग एकता वा सहकार्यतर्फ झुकाव राखिरहेका छन्। आइतबार नेता श्रेष्ठले माओवादी केन्द्रका शीर्ष नेतृत्वसँग संभावित एकताबारे व्यापक छलफल गरेका थिए। यसअघि अध्यक्ष राईलगायत नेताहरूले पनि प्रचण्डसँग भेटेर सहकार्यका आयाममा प्रारम्भिक सहमति मिलाएको बताइएको छ।
यता सहअध्यक्ष रेणु यादवले भने अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक गरेकी छैनन्।
मधेस उन्मुख समूहका नेताहरू भने मधेस केन्द्रित दलहरूसँग एकता वा मोर्चाबन्दी नै पार्टीको मूल ध्येयसँग मेल खाने तर्क राखिरहेका छन्। महासचिव इस्तियाक राई, उपमहासचिव प्रदीप यादवलगायतका नेताहरू मधेसकै राजनीतिक मुद्दामा स्थापित दलसँग सहकार्य पहिलो प्राथमिकता हुनुपर्नेमा अडानमा छन्।
उपमहासचिव यादवले विचार र मुद्दा नमेल्ने दलसँग एकता “कल्पनाबाहिर” रहेको बताए। “पहिले मधेस केन्द्रित दलसँग एकता हुनुपर्छ, त्यसपछि मात्र अन्य दलसँग गठबन्धनको कुरा आउँछ,” उनले भने। उनले कांग्रेस, एमाले र नेकपा ९माओवादी० पक्षबाट मधेसी तथा आदिवासी जनजातिको मुद्दामा अपेक्षित संवेदनशीलता नदेखिएको आरोपसमेत लगाए।
२०८१ वैशाखमा जसपा नेपालबाट अलग भई बनेको जसपा अहिले फेरि दल–गठनका नयाँ विकल्प खोज्दै छ। तीव्र मतभेदका बीच केही नेताहरू जसपा नेपालमै फर्कने सम्भावना पनि बढेको बताइन्छ। जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवसँग निरन्तर संवाद जारी रहेको र उनले “सम्मानजनक एकीकरण” को प्रस्तावसमेत अघि सारेका छन्।
त्यस्तै, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले पनि जसपालाई लिखित रूपमा एकताको प्रस्ताव पठाइसकेको छ।
जसपा फुटेको घटनालाई गैरकानुनी भन्दै जसपा नेपालले दायर गरेका दुई रिट दुई वर्षदेखि सर्वोच्च अदालतमा रोकिएका छन्। अदालतको फैसला आउनुअघि नै फेरि विभाजनको संकेत देखिनु पार्टीभित्र झनै अनिश्चितता बढाउने कारक बनेको छ।
स्रोतहरूले केही नेताहरू एमालेतर्फ समेत आकर्षित रहेको दाबी गरेका छन्। विशेषगरी वीरेन्द्र महतोलगायतका नेताहरूले एमाले प्रवेशको सम्भावना खुलेर व्यक्त गरिरहेका छन्।
अध्यक्ष राई समूह र मधेसी नेताहरूबीच बढ्दो मतभेदले जसपालाई पुनः दुई दिशामा विभाजित बनाइदिएको छ—एक पक्ष मधेस केन्द्रित दलहरूसँग एकताका पक्षमा, अर्को पक्ष माओवादी केन्द्रसँग सहकार्यतर्फ उन्मुख।
आगामी निर्वाचन नजिकिँदै गर्दा कुन धारालाई जसपाले आफ्नो राजनीतिक भविष्यको रूपमा रोज्छ भन्ने प्रश्नमा सबैको ध्यान केन्द्रित भएको छ।



