बारा,०३ मंसिर । बारा जिल्लामा जेनजी समूहद्वारा गरिएको प्रदर्शनका कारण काठमाडौँबाट सिमरातर्फको उडान रोकिएको छ। एमाले नेता महेश बस्नेतलाई लक्षित गरेर गरिएको विरोधका कारण उडान प्रभावित भएको विमानका यात्रु राजन कुइँकेलले बताए।
उनका अनुसार सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त रहेको सूचना पाएपछि विमानबाट यात्रुहरूलाई नै ओरालिएको हो। विमानमा एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायत शीर्षस्थ नेता सवार थिए। उनीहरूकै विरोधमा सिमरामा प्रदर्शन चर्किएपछि उडान स्थगित गरिएको विमानस्थल स्रोतले जनाएको छ।
बस्नेत आज बारा पुगेर मधेस प्रदेशस्तरीय युवा जागरण अभियानमा सहभागी हुने कार्यक्रम तय थियो। बस यही कार्यक्रमलाई लक्षित गर्दै जेनजी समूहले सिमरा चोकमा विरोध प्रदर्शन गरेका थिए, जसका कारण स्थानीय सुरक्षा स्थिति संवेदनशील बनेको थियो।



