सप्तरी,०३ मंसिर । सप्तरी प्रहरीले रासायनिक मल कालोबजारी गरेको आरोपमा स्थानीय सहकारीका एक सञ्चालकलाई पक्राउ गरेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाका ४५ वर्षीय मनोज कुमार यादव पक्राउ परेका हुन्। उनी स्थानीयरूपमा सञ्चालन भइरहेको जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक रहेका छन्।
विशेष सुराकीका आधारमा प्रहरीले आइतबार यादवलाई २४० बोरा डिएपी मलसहित नियन्त्रणमा लिएको हो। नेपाल सरकारले किसानका लागि सहुलियत दरमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गर्न राखिएको पाइएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
ना ६ ख ६२८४ नम्बरको ट्रकमा रहेका ५० किलो तौलका १३० बोरा मल र सहकारीको गोदाममा प्रशोधित ११० बोरा मल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।



