काठमाडौ,०३ मंसिर । बाराको सिमरा क्षेत्रमा जारी कर्फ्यु आदेशप्रति नेकपा एमालेका नेता महेश बस्नेतले सरकारप्रति कटाक्ष गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत बताएका छन् कि राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभा रोक्न जेनजीको नाममा सडकमा अराजक भिड उतारिएको र विमानस्थल अवरोध गराइएको घटना नै कर्फ्युको बहाना बनेको हो। “५०–६० जनाको सामान्य भीड नियन्त्रण गर्न नसकेको बहानामा कर्फ्यु लगाउनु नैतिक दृष्टिले गलत हो,” उनले भने।
उनले सरकारमाथि लोकतान्त्रिक अभ्यासमा हस्तक्षेप, सभा–सम्मेलनको अधिकार हनन, स्वतन्त्र अभिव्यक्ति र राजनीतिक गतिविधिमा बाधा पुर्याएको आरोप लगाए। बस्नेतले भने, “हे कठपुतली सरकार, लोकतन्त्र, विधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ, जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुने छैनौँ।”
बस्नेतले आगामी फागुन २१ मा चुनाव गराउने सरकारको दाबीलाई हास्यास्पद भन्दै वर्तमान शासनप्रति आफ्नो कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
सोही क्रममा, बस्नेतसहितका नेताहरू बाराको कार्यक्रममा जान लागेको सूचनापछि जेनजीले सिमरा विमानस्थल क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ र बस्नेत काठमाडौँमै रोकिएका छन्।



