काठमाडौँ,०३ मंसिर । बाराको परवानीपुरमा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको भ्रमणमा अवरोध भएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्।
सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले भनेका छन् कि सिमरामा भएको घटना जेनजीको वास्तविक भावना होइन, त्यसको दुरुपयोग गरिएको हो। “निषेधको राजनीति कसैले नगरौं। जो कोहीलाई भ्रमण गर्ने संविधानिक अधिकार छ, त्यसलाई कुण्ठित गर्नु द्वन्द्व मात्र बढाउँछ। यो समयमा संयम र एकता आवश्यक छ,” उनले उल्लेख गरेका छन्।
शर्माले कांग्रेसले वातावरण बनाइ चुनावी गतिविधि सहज बनाउनुपर्ने र एमालेलाई चुनावमा सहभागी हुन प्रोत्साहित गर्नुपर्ने बताएका छन्। साथै, जेनजीले अभिव्यक्त गरेका आवेगका प्रतिक्रियालाई संयमित गर्नुपर्ने पनि उनले जोड दिएका छन्।
सिमरामा एमाले नेताहरूको भ्रमणबारे सूचना पाएपछि जेनजीका युवाहरूले प्रदर्शन गर्दा एमाले समर्थक युवाहरूबीच झडप भएको थियो। यस घटनापछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सुरक्षा र शान्ति कायम राख्न यो कदम आवश्यक भएको जानकारी दिएका छन्।




