जनकपुर,०३ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा पार्टीको ह्विप लाग्ने र ७ दिनभित्र प्रक्रिया अघि बढ्ने बताएका छन्।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै यादवले भने, “यसमा दलीय ह्विप किन लाग्दैन? जुनसुकै भोटिङमा पनि दलीय ह्विप लाग्छ।”उनका अनुसार अब उपसभामुखले सात दिनभित्र सदन बोलाउने छन्। त्यसपछि प्रस्तावकले प्रस्ताव पेश गर्ने, समर्थकहरूले समर्थन जनाउने र खुला छलफल हुनेछ। प्रस्ताव पेश भएपछि सभामुखलाई आफ्नो बचाउ पेश गर्न समय दिइनेछ।
यादवले मतदान प्रक्रिया पनि स्पष्ट पारे, “यदि प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत जुट्छ भने सभामुख मण्डल तत्काल पदमुक्त हुनेछन्।”
सभामुख मण्डल आजको बैठकमा अनुपस्थित थिए। यादवका अनुसार, “संसद् सचिवालयले सबै माननीयलाई म्यासेज पठाइसकेको छ। उहाँलाई पनि प्रस्तावबारे जानकारी छ; आउने नआउनु उहाँको व्यक्तिगत इच्छाको कुरा हो।”
केही दिनअघि ७४ सांसदको हस्ताक्षरमा मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।





