काठमाडौं,०३ मंसिर । काठमाडौं महानगरपालिकाले वडा नं. १०, देवीनगर (धोवीखोला करिडोर) मा अतिक्रमणमुक्त बनाएको ५ रोपनी सार्वजनिक जग्गामा पार्क निर्माणको काम सुरु गरेको छ।
महानगरले स्पोर्ट्स पार्क बनाउने उद्देश्यसहित आज शिलान्यास गरेको हो। पार्क निर्माणपछि स्थानीय बासिन्दाले खुला व्यायाम, फुटसल, ब्याटमिन्टन, टहल्ने र बालबालिकाका खेलकुद गतिविधि गर्न सक्नेछन्।
वडा नं. १० का अध्यक्ष रामकुमार केसीले पार्क केवल पूर्वाधार नभई सामाजिक गतिविधि बढाउने माध्यम पनि हुने बताए। पार्कमा १२८ वर्गमिटर ब्याटमिन्टन कोर्ट, ९२८.५३ वर्गमिटर फुटसल मैदान, महिला, पुरुष र अपाङ्ग व्यक्तिका लागि शौचालय र पोशाक परिवर्तन कक्ष, ३११.८९ वर्गमिटर हरियाली र १६३ जातका विरुवा र ३०० मौसमी फूल रोपिने छ।
निर्माण कार्य हान्स–चपुर ज्वाइन्ट भेन्चरले पाएको छ। पार्कको कुल लागत भ्याट र पीएससहित २ करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको छ। निर्माण कार्य कात्तिक १८, २०८३ सम्म सम्पन्न हुने अनुमान छ।
महानगर प्रहरी बलले यस स्थानलाई २०८० साल साउन ४ गते अतिक्रमणमुक्त बनाएको थियो। पूर्वमन्त्री भद्रकुमारी घलेले पनि अतिक्रमण हटाउने अभियानमा सहयोग गरेकी थिइन्।
पार्क निर्माणपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ लगायतका क्षेत्रका बासिन्दाले सुविधा लिन सक्नेछन्।



