काठमाडौँ,०३ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले तोकिने मितिमा निर्वाचन गर्ने तयारीमा रहेको बताएका छन्।
बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री खरेलले भने, “यदि तोकिएको समयमा चुनाव नभए मुलुक नयाँ जोखिममा पर्न सक्छ।” उनले निर्वाचनको वातावरण तयार पार्न सरकार १२३ वटा राजनीतिक दलसँग निरन्तर संवादमा रहेको जानकारी दिए।
मन्त्री खरेलले निर्वाचन सम्पन्न गराउन राष्ट्रिय सभा, संसदीय समितिहरू र सदस्यहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। साथै उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि प्राथमिकतामा राखेर अघि बढाइएको स्पष्ट पारे।
उनले सबै सांसद, सभापति र राजनीतिक दलहरूलाई आग्रह गर्दै भने, “चुनाव हुने बाटोमा मुलुकलाई अगाडी बढाउन सबैको सहकार्य आवश्यक छ।”




