जनकपुर,०३ मंसिर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नसकेको आरोपसहित दर्ता भएको प्रस्ताव प्रदेश सभाले दुई–तिहाइ बहुमतले पारित गरेसँगै उनी पदमुक्त भएका छन्।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफलपछि मत विभाजन प्रक्रिया अपनाइएको थियो। उपसभामुख बबिताकुमार राउत ईशरका अनुसार बैठकमा उपस्थित ७८ मध्ये ७६ जनाले प्रस्तावको पक्षमा मतदान गरे।
सभामुख मण्डलविरुद्धको प्रस्ताव गत २७ कात्तिकमा सात दल मिलेर बनेको गठबन्धनका ६४ जना सांसदले दर्ता गराएका थिए। त्यसपछि उपसभामुख ईशरले छलफलका लागि आजको बैठक बोलाएकी थिइन्।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रस्ताव पेस गरेका थिए। छलफलका क्रममा लोसपाका सांसद उपेन्द्र महतो, जसपा नेपालका मनिषकुमार सुमन, सञ्जयकुमार यादव र राजकुमार गुप्ता, कांग्रेसकी जीवछीदेवी यादव, एकीकृत समाजवादीका गणेश पटेल र प्रमोद यादवलगायतले आफ्ना धारणा राखेका थिए।
छलफलपछि निर्णयार्थ प्रस्तुत प्रस्ताव दुई–तिहाइ समर्थनसहित पारित भयो। सुरुको बैठकमा उपस्थिति जनाएको एमालेबाट अन्तिम निर्णय प्रक्रियामा भने कोही सांसद सहभागी भएनन्।



