रौतहट,०३ मंसिर । रौतहटको जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
करार शिक्षक नियुक्तिमा सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको प्रारम्भिक अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक सञ्जय र अरविन्दप्रकाश साह कानुसँग मिलेमतोमा घुस मागेको ठहर गर्दै दुवै जनाविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार मावि तहको विज्ञान विषयमा करार शिक्षक नियुक्तिका लागि प्रश्नपत्र उपलब्ध गराइदिने प्रलोभन देखाएर घुस लिइएको पाइएको छ।
सोही रकम बराबरको बिगो दाबी सहित दुवै जनामाथि भ्रष्टाचार निवारणसम्बन्धी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।





