बारा,०४ मंसिर । बाराको सिमरामा चलेको तनाव कम गर्न स्थानीय प्रशासनले गरेको वार्ताको पहल आन्दोलनरत जेनजी युवाहरूले नस्वीकार गरेका छन्। जिल्ला प्रशासन कार्यालय बाराले संवादमार्फत समस्या समाधान गर्न वार्ताकाे प्रस्ताव गरेको थियो, तर प्रदर्शनकारीहरूले कडा सर्तसहित त्यसलाई अस्वीकार गरेका हुन्।
जेनजी समूहको मुख्य माग भनेको बुधबारको झडपमा जेनजी युवामाथि हातपात गरेको आरोप लागेका नेकपा एमाले निकट युवा संघका स्थानीय नेता अरविन्द साहको तत्काल गिरफ्तारी हो। साह पक्राउ नपरेसम्म कुनै पनि प्रकारको वार्तामा नबस्ने उनकाे अडान रहेको जेनजी अगुवा सम्राट उपाध्यायले बताए। उनकाे भनाइमा, प्रशासनले फोनमार्फत वार्तामा बस्न आग्रह गरे पनि उनीहरूले पहिलो प्राथमिकता ‘न्याय’ भन्दै साहको गिरफ्तारीलाई अघि सारेका छन्।
जेनजी युवाहरूले साहले नै झडप सुरु गर्ने गरी पहिलो मुक्का प्रहार गरेको दाबी गरेका छन्। उनीहरूका अनुसार साह अहिले फरार छन्, जसले झनै आक्रोश बढाएको छ। जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले वार्ताका लागि बोलाइएको जानकारी दिँदै जेनजी समूह भने वार्ता टोली नै घटनास्थलमा आउनुपर्ने पक्षमा रहेको बताए।
अभियुक्तको गिरफ्तारीको माग अनसुना भएको ठान्दै जेनजी युवाहरू वार्ताबाट पछि हटेपछि सिमरामा तनाव शान्त पार्ने सरकारी प्रयास तत्कालका लागि रोकिएको छ।




