बारा,०४ मंसिर । बाराको सिमरामा हिजोदेखि बढ्दो तनाव र हिंसात्मक घटनाप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर चासो व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बिहीबार प्रतिक्रिया दिँदै उनले सबैलाई स्थितिलाई नियन्त्रणबाहिर जान नदिन संयम अपनाउन आग्रह गरेका छन्।
प्रचण्डले भनेका छन् कि लोकतन्त्रमा विचार भिन्नता स्वाभाविक भए पनि राजनीतिक मतभेदलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु अस्वीकार्य हो। साथै, राजनीतिक स्वतन्त्रता सुनिश्चित हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले राजनीतिक दलका कार्यकर्ता र नेताहरूलाई स्वतन्त्र रूपमा हिँडडुल, सभा र कार्यक्रम गर्ने अधिकार सुनिश्चित गर्नु आवश्यक रहेको बताए। आगामी फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटना बाधक नबनोस् भन्नेमा सबै पक्ष जिम्मेवार हुने प्रचण्डले अपिल गरेका छन्।
साथै, उनले स्थानीय पार्टी समितिहरूलाई तनाव न्यूनीकरणका लागि आवश्यक सहजीकरण गर्न निर्देशन दिएको जानकारी पनि दिएका छन्।




