काठमाडौं,०५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टीले मधेशदेखि काठमाडौं उपत्यका र सुदूरपश्चिमसम्मका विभिन्न अनुहारहरुलाई समेट्दै देशव्यापी समावेशिताका साथ अगाडि बढिरहेको बताएका छन्।
काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लेले देशको विविध अनुहार जस्तै पार्टीको अनुहार पनि विविध र समावेशी बनाउने अभियानमा रास्वपा लागेको उल्लेख गर्दै त्यसको झलक आजको कार्यक्रममा देखिएको बताए।
उनले भने, “हामीले पार्टीका कार्यक्रमहरुमा भन्न खोजेका छौँ, देशको अनुहार जस्तो छ, हाम्रो पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्छ। यसलाई समावेशिताको मर्म अनुसार अगाडि बढाउँदै छौँ। अझै धेरै काम बाँकी छ, तर हाम्रो नियत र प्रयास सही दिशामा रहेको देखिन्छ।”
कार्यक्रममा देशका विभिन्न क्षेत्रहरुबाट १५ जना नयाँ सदस्यले पार्टी प्रवेश गरेका छन्। वाग्लेले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा चौथो नम्बरबाट पहिलो पार्टी बन्ने लक्ष्यसहित पार्टीले अघि बढिरहेको उद्घोष पनि गरे।




