जनकपुर,०५ मंसिर । जनकपुरधामस्थित निर्माणाधीन श्री राम–जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला शुक्रबार उच्चस्तरीय टोलीद्वारा निरीक्षण गरिएको छ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बिहान रंगशाला पुगेका थिए।
मन्त्रीद्वयले मधेश प्रदेशको खेलकुद मन्त्रालयका पदाधिकारी तथा खेलकुद परिषद्का प्रतिनिधिसँग रंगशालाको समग्र प्रगति तथा बाँकी रहेका कामबारे विस्तृत जानकारी लिए।
निरीक्षणपछि खेलकुद मन्त्री गुप्ताले ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै आयोजना गर्ने तयारी भएकाले आवश्यक भौतिक संरचना समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए। उनले बांकी समय सीमित रहेको भन्दै कामलाई तीव्रता दिन मन्त्रालय सक्रिय रहने प्रतिबद्धता जनाए।
गुप्ताका अनुसार रंगशाला निर्माणसम्बन्धी कागजी प्रक्रिया केन्द्रको अर्थ मन्त्रालयमा केही समयदेखि रोकिएको देखिएको छ। उनले काठमाडौं फर्किएपछि प्रक्रिया छिटो अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिने बताए।
११औं राष्ट्रिय खेलकुदका लागि जनकपुरधाम र नारायणीलाई मात्र सम्भावित विकल्पका रूपमा हेरिएकाले जनकपुरमा रंगशाला निर्माण अत्यावश्यक बनेको मन्त्री गुप्ताले स्पष्ट पारे।
मन्त्री गुप्ता र घिसिङले आजै सिरहा र धनुषा जोड्ने महत्वपूर्ण संरचना कमला पुलको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।





