पर्सा – सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयको विशेष सूचनाका आधारमा पर्सामा सञ्चालन गरिएको संयुक्त कारबाहीमा ५७ लाख रुपैयाँभन्दा बढीका सामग्री तथा अवैध रकम बरामद गरिएको छ।
स.प्र.ना.उ. पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोली र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले बीरगञ्ज–१० आदर्शनगरस्थित एक पुरानो घरबाट भन्सार छली भण्डारण गरिएको अन्दाजी ५४ लाख २८ हजार रुपैयाँ बराबरको किराना सामान तथा औषधि बरामद गरी भन्सार बुझाएको छ।
त्यस्तै, सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वाबाट खटिएको टोलीले विभिन्न स्थानमा गरिएको कारबाहीमा ३ लाख ३९ हजार रुपैयाँ बराबरका किराना, कपडा र हार्डवेयर सामग्री बरामद गरी भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
बारामा मंसिर ३ र ५ गते अवैध कारोबारको आशंकामा बरामद गरिएको रकम गरी कुल १९ लाख ९५ हजार रुपैयाँ भन्सार बुझाइएको छ। बीरगञ्ज महानगर–१६ भन्सार मेनगेटबाट मात्रै ३ लाख रुपैयाँ बरामद गरिएको थियो।
सीमा क्षेत्रमा हुने अवैध तस्करी, रकम ओसारपसार, लागुऔषध तथा हातहतियार तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढाइएको छ। अवैध गतिविधिलाई रोक्न जनचेतनामूलक अभियानलाई अझ सशक्त बनाइने स.प्र.ना.उ. विश्वराज योन्जनले जानकारी दिए।



