सिन्धुपाल्चोक, ०६ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी ओलीले मुलुकलाई नियन्त्रित अस्थिरताको भुमरीमा पुर्याएको आरोप लगाउनुभएको छ।
शनिबार चौतारामा सम्पन्न पार्टीको जिल्ला कमिटी बैठकमा साहले जेन–जी आन्दोलनको मर्म र भावनालाई कार्की सरकारले कुल्चेको र ओली नेतृत्वले सत्ताको दुरुपयोग गर्दै आन्दोलनमाथि दमन गरेको बताए। उहाँले भदौ २३–२४ मा भएका घटनालाई नियाल्दा जनविद्रोह अपहरण गरिएको उल्लेख गर्नुभयो।
साहले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमता माथि प्रश्न उठाउँदै आयोगले पनि दोषीहरूसँग बयान लिन नसकेको र शान्ति सुरक्षा वातावरण सुनिश्चित गर्न सरकार असफल भएको आरोप लगाउनुभयो। जेलबाट बाहिर निस्किएका नेता रवि लामिछानेलाई समेत बयान नलिएको भन्दै उहाँले प्रश्न गर्नुभयो।
साथै, बाराको सिमरामा जेनजी युवाहरू शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला भएको कुटपिट घटनाको दोहोरिन नदिन सरकारलाई चेतावनी दिनुभयो। साहले अवसरवादीहरूले चुनावलाई मात्र ध्यानमा राखेर दल खोलेको र देश तथा जनतालाई नबुझेको आरोप पनि लगाउनुभयो।
बैठकमा आजपा सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष गणेश श्रेष्ठको नेतृत्वमा सहअध्यक्ष तिलक थापामगर, प्रदेश इन्चार्ज धनकुमारी मगर, सचिवालय सदस्य लगायतको सहभागिता रहेको थियो।





