spot_img

सहकारी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने सरकारी तयारी

spot_img
spot_img

काठमाडौं,०७ मंसिर । सरकारले समस्याग्रस्त सहकारी संस्थामा एक लाख रुपैयाँसम्म बचत गरेका पीडित नागरिकको रकम फिर्ता गर्ने तयारी थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसका लागि विशेष कार्यविधि तयार पारेर अर्थ मन्त्रालयमा पठाएको हो।

मन्त्रालयका सहप्रवक्ता दामोदर वाग्लेका अनुसार साना बचतकर्ताको रकम तत्काल फिर्ता गर्न ‘चक्रिय कोष’ निर्माण गर्ने प्रस्ताव गरिएको छ। अर्थ मन्त्रालयले सो कार्यविधि स्वीकृति दिएपछि कानुन मन्त्रालयको राय लिएर अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ। मन्त्रिपरिषद्को अनुमोदनपछि पीडितले आफ्नो बचत फिर्ता पाउन सहज हुनेछ।

प्रस्तावअनुसार अर्थ मन्त्रालयले निश्चित रकम बीउ पुँजीका रूपमा चक्रिय कोषमा राख्नेछ, जसबाट समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्तालाई निक्षेप फिर्ता गरिने योजना छ। यता, ती सहकारीहरू लिलामीबाट प्राप्त रकम पुनः त्यही कोषमा जम्मा गरेर भविष्यको स्रोत सुनिश्चित गरिनेछ।

देशभर करिब ३४ हजार सहकारी चलिरहेको अवस्थामा नियमन कमजोर रहेकाले सहकारी संकट बढ्दै गएको पीडित पक्षको आरोप छ। पछिल्लो समय देशभर बचत फसेका नागरिकले विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान चलाउँदै आएका छन्। उनीहरूले रकम फिर्ता र बदमासीमा संलग्न सहकारी सञ्चालकविरुद्ध कडा कारबाहीको माग गर्दै आएका छन्।

सहकारीका मूल सिद्धान्तअनुसार पारदर्शी र सदस्य–केन्द्रित रूपमा चलेका संस्थाले राम्रो प्रगति गरेका छन्। तर सिद्धान्तविपरीत बचत संकलन र अनियमित कर्जा प्रवाह गर्ने सहकारीहरू समस्याग्रस्त बन्न पुगेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय