चितवन,०७ मंसिर । नेपालमा अण्डाको मूल्य आजदेखि प्रभावकारी हुनेगरी उल्लेखनीय रूपमा वृद्धि गरिएको छ। किसानको फार्म–रेटलाई आधार बनाएर समर्थन मूल्य तय गर्ने नेपाल लेयर्स कुखुरापालक सङ्घले नयाँ मूल्यसूची सार्वजनिक गरेसँगै बजारमा अण्डाको दर बढेको हो।
सङ्घका अनुसार अब एक क्रेट (३० वटा) एक्सएल अण्डाको मूल्य रु ५२०, लार्ज अण्डा रु ५०५ र मिडियम अण्डा रु ४९० कायम गरिएको छ। यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु ५५ ले वृद्धि भएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार भारततर्फ निर्वाचनका कारण सीमामा कडाइ हुँदा त्यहाँको अण्डा खपत बढेको र त्यसले मूल्य उकासेपछि अवैध रूपमा अण्डा नेपाल छिर्न नपाएको हो। अवैध आयात रोकिएपछि नेपाली किसानले पहिलोपटक लागतअनुरूपको मूल्य पाउन थालेको उनले बताए।
सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा अहिले प्रतिगोटा अण्डा भारतीय रुपैयाँ ७.८० मा बिक्री भइरहेको छ। भारतमै राम्रो मूल्य पाइने भएपछि अण्डा अवैध रूपमा नेपाल पठाउने चहलपहल न्यून भएको बताउँदै उनले भने, “नेपाली बजार भारतीय अण्डाबाट मुक्त भएपछि किसानले राहत पाएका छन्।” नेपालमा एक अण्डाको उत्पादन लागत रु १६.५७ पर्ने बताइँदै आएको छ।
जाडो मौसम नजिकिँदै जाँदा अण्डाको खपत स्वभाविक रूपमा बढ्ने उल्लेख गर्दै अध्यक्ष पोखरेलले जनचेतना विस्तारले पनि माग वृद्धि भएको बताए। तीन महिनाअघि क्रेटको मूल्य रु ५३० पुगेकोमा पछि रु ४०० मा झरेको थियो। तर अहिले पुनः क्रमशः वृद्धि भई किसानले लागत बराबरको मूल्य पाउन थालेका छन्। यसले अण्डा उत्पादन क्षेत्रका किसान लाभान्वित हुने सङ्घको दाबी छ।
हाल नेपालमा दैनिक करिब ४० लाख अण्डा उत्पादन हुने अनुमान छ।



