रौतहट,०७ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा सशस्त्र प्रहरीले शनिबार दुईवटा अत्याधुनिक पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकबारे थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले उनलाई नेपाल प्रहरीले जिम्मा लगाएको छ।
चन्द्रपुर नगरपालिका–४ देउराली चोकमा नियमित चेकजाँचका क्रममा पैदल हिँडिरहेका मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय बर्दिबासका प्रमुख डीआईजी कृष्ण ढकालले जानकारी दिए।
उनका अनुसार आचार्यको साथबाट मेड इन इटाली लेखिएको एक अटोमेटिक बेरेटा पेस्तोल, एक म्यागजिन, ब्राउनिङ 9CF लेखिएको अर्को पेस्तोल, त्यसको म्यागजिन तथा १३ राउन्ड गोली बरामद गरिएको छ। साथै उनको झोलाबाट एउटा खुकुरी पनि फेला परेको प्रहरीले जनाएको छ। दुवै पेस्तोल अत्याधुनिक भएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा आचार्यलाई समातिएको बताइएको छ। बाराको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल हेटौंडाको पदमपोखरीमा बस्दै आएका उनले हतियार कहाँबाट ल्याए र कसरी प्रयोग गर्ने योजना थियो भन्नेबारे प्रहरीले विस्तृत अनुसन्धान थालिएको छ।
सशस्त्र प्रहरीले आचार्यलाई बरामद हतियारसहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइसकेको छ।



