महोत्तरी,०७ मंसिर । मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने ऐतिहासिक रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’ उत्सवको तयारी तीव्र बनेको छ। जनकपुरमा साताव्यापी महोत्सव बिहीबारबाट आरम्भ भएपछि विवाहपञ्चमीका अघिल्लो दिन मनाइने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठमा सुरु गरिएको हो।
यस वर्ष विवाहपञ्चमी मंसिर शुक्ल पञ्चमीका दिन अर्थात् मंगलबार परेको छ। त्यस अनुसार ‘मटकोर’ सोमबार सम्पन्न हुनेछ। महोत्सवअन्तर्गत नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भइसकेका छन्।
मटिहानीस्थित लक्ष्मीनारायण मठ मिथिलाको प्रमुख नायक मठ मानिन्छ। त्रेतायुगमा श्रीराम र सीताको विवाहका बेला जनकपुरमा यज्ञवेदी बनाउन यहींबाट माटो खनिएको विश्वास रहिआएको छ। यही आस्थाका आधारमा विवाहको एक दिनअघि मटिहानीमा ‘मटकोर’ उत्सव मनाइँदै आएको मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले बताए।
उनका अनुसार “मटिहानीमा मनाइने मटकोर उत्सवमा स्थानीयवासीदेखि नेपाल–भारतका साधुसन्तसम्म सहभागी हुन्छन्।” विधिअनुसार पवित्र स्थानबाट खनिएको माटो वेदी, मण्डप, चुल्हो र देवप्रतिमाहरू लिपपोत गर्न प्रयोग गरिन्छ।
माटो खन्न जाने समूहमा परम्पराअनुसार महिलाको सहभागिता विशेष हुन्छ। बाजागाजाका साथ खनिने माटोलाई दही, फूल, चामल, बेसार, पान, सुपारी, अक्षता आदि सामग्रीले भूमि पूजन गरेर मात्र घराइन्छ। भूमि पूजनलाई माटो खन्ने अनुमति माग्ने धार्मिक प्रक्रिया मानिन्छ, भन्छन् कर्मकाण्डविद् शोभाकान्त झा।
विश्वास अनुसार श्रीराम–सीताको विवाहका बेला हालको मटिहानी–७ स्थित लक्ष्मीसागर पोखरीबाट यज्ञवेदी निर्माणका लागि माटो खनिएको थियो। त्यसैको प्रतिरूप स्वरूप आज पनि मटकोर उत्सव निरन्तर चल्दै आएको छ।
यस उत्सवसँगै भारतका विभिन्न प्रान्तबाट आउने साधुसन्तको स्वागत, भोजन तथा बसोबासको व्यवस्था पनि मटिहानीमै गरिन्छ। विवाहपञ्चमीको अघिल्लो दिन मटिहानीमै बास बसेका साधुसन्त भोलिपल्ट जलेश्वरनाथ महादेवको दर्शन गरी पिपरामा भोजन ग्रहण गरेर जनकपुरस्थित रङ्गभूमिमा हुने स्वयम्वर तथा विवाह समारोहमा सहभागी हुने चलन छ।





