काठमाडौं,०७ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन शुक्रबारसम्म ४० राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। आयोगले दल दर्ताका लागि मंसिर १ देखि १० गतेसम्म समय दिएको थियो।
यद्यपि विघटित प्रतिनिधिसभामा पहिलो दल रहेको नेपाली कांग्रेस र दोस्रो दल एमालेले भने अहिले सम्म निवेदन दर्ता गरेका छैनन्। कांग्रेसले शनिबार निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने एमाले भने प्रतिनिधिसभा पुनःस्थापनाको माग कायम राख्दै छ।
आयोगले प्रतिनिधिसभासँगै ११ माघमा रिक्त हुने राष्ट्रिय सभाका १९ सिटका लागि पनि दल दर्ता आह्वान गरेको छ। हालसम्म राष्ट्रिय सभा निर्वाचनका लागि ८ दलले दर्ता गराइसकेका छन्।आयोगमा दर्ता भइसकेका सूचीकृत दलको संख्या १२९ पुगेको छ। तीमध्ये पछिल्लो समय मात्र १० नयाँ दलले दर्ता प्रमाणपत्र पाएका छन्। संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार, सूचीकृत दलले प्रत्येक निर्वाचनमा भाग लिन पुनः दर्ता गराउनै पर्छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, तोकिएको समयमै दर्ता भएका दलहरूले मात्र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेछन्।
प्रतिनिधिसभा निर्वाचनका लागि यसअघि दर्ता निवेदन दिएका प्रमुख दलहरूमा नेकपा (माओवादी केन्द्र), रास्वपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र जनमत पार्टी छन्।यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एमएल), जसपा नेपाल, जसपा, नेपाल सद्भावना, देश विकास, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक, आम जनता, मंगोल नेसनल अर्गनाइजेसन र बहुजन शक्ति पार्टीले पनि निवेदन दिएका छन्।
अन्य दर्ता इच्छुक दलहरूमा नेपाल मानवतावादी पार्टी, नेपाल जनता संरक्षण, नेपाल जनता, राष्ट्रिय समता पार्टी नेपाल, संयुक्त नागरिक, नेपाल जनमुक्ति, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, नेपाल परिवार दल लगायतका विभिन्न दल छन्।
त्यस्तै, संघीय नेपाल पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनश्रमदान संस्कृति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय साझा पार्टी र परिवर्तन पार्टीले पनि दर्ता निवेदन पेस गरेका छन्।
राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले दर्ता गराइसकेको छ। त्यसबाहेक नेकपा (माओवादी), नेमकिपा, बहुजन शक्ति, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि दर्ता निवेदन दिएका छन्।
आयोगले सूचीकृत गरेको १० नयाँ दलमा हर्कराज राईको श्रम संस्कृति पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी, कविर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल, राजेश प्रतेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टी, रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी), अकबर खानको राष्ट्र निर्माण दल नेपाल, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, प्रशान्त सिंहको पिपुल फर्स्ट पार्टी र अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी रहेका छन्।
यसबाहेक अझै २८ दल दर्ता प्रक्रियामा छन् तर ५ सय समर्थकको अनिवार्य सनाखत प्रक्रिया पूरा गर्न नसक्दा धेरै दललाई कठिनाइ परेको आयोगका कर्मचारीहरूको आकलन छ। तीमध्ये ३–४ दलले मात्र मंसिर १० भित्र प्रक्रिया सम्पन्न गर्न सक्ने देखिँदैछ।




