spot_img

यादवको एकलौटी शैलीले मधेशमा एमाले एक्लिँदै

spot_img
spot_img

जनकपुर,०७ मंसिर । मधेश प्रदेशमा नेकपा एमालेभित्र बढ्दै गएको असन्तुष्टि र राजनीतिक तनाव पछिल्ला गतिविधिका कारण झनै चुलिएको छ । एमाले संसदीय दलका नेता सरोजकुमार यादवको ‘एकलौटी शैली’ र पद–मन्त्रालयप्रतिको हठका कारण एमाले मधेशमा क्रमशः एक्लिँदै गएको विश्लेषकहरूको भनाइ छ ।

तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंह (जनमत पार्टी) को सरकार गठनका क्रममा एमालेले चार मन्त्रालय पाएको थियो, जसको नेतृत्व सबै सरोज यादवले नै सम्हालेका थिए । गृह तथा सञ्चार, भौतिक पूर्वाधार, स्वास्थ्य, खेलकुद—एकपछि अर्को मन्त्रालय आफ्नो नियन्त्रणमा राखेपछि भित्रै असन्तुष्टि बढेको थियो ।

एमालेका एक प्रदेश सांसद भन्छन्, “महत्वपूर्ण विषयमा दलका नेता यादवले कसैसँग सल्लाह–सम्झौता गर्दैनन्, केन्द्रमा पनि केही नेतासँग मात्रै कुरा हुन्छ ।”

सरकार परिवर्तन र ‘मन्त्री लोभ’ को आरोप

२०७९ पुसमा जसपा (नेपाल) को नेतृत्वमा बनेको प्रदेश सरकारमा पनि यादवले भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । एमाले लाई सरकारमा जाने मौका मिलेसँगै मन्त्री बन्नतर्फ यादवको हतारो देखिएको भन्दै त्यतिबेला पनि पार्टीभित्र आलोचना भएको थियो ।

जेन–जी आन्दोलनपछि मुख्यमन्त्री सिंहले राजीनामा घोषणा गरे पनि पछि पछाडि हट्न एमाले–कांग्रेसको साथ थियो भन्ने आरोप लाग्यो । विशेषतः सिंहको सरकारले यादव नेतृत्वको भौतिक पूर्वाधार मन्त्रालयलाई करिब १७ अर्ब रुपैयाँको विशाल बजेट विनियोजन गरेपछि ‘मन्त्रालय बटुवाको लोभ’ लागेको टिप्पणी एमालेभित्रै सुनिन थाल्यो ।

पत्रकार सम्मेलनमा आलोपालो सरकार गठनबारे प्रश्न उठ्दा यादवको उत्तरले पनि राजनीतिक रस्साकस्सी थपिँदै गयो— “उपयुक्त समय आइसकेको छैन,” उनले भनेका थिए ।

सोनलको सरकार ढलेपछि—झिसमिसेमा शपथ

लोसपाका जितेन्द्र सोनलले विश्वासको मत नपाएपछि मन्त्री छोडेर हिँडे, तर एमालेले भने अर्को रणनीति लिएर अघि बढ्यो । यादवले प्रदेश प्रमुखसँग रातारात समन्वय गरेर संविधानको धारा १६८(३) अनुसार ‘सबैभन्दा ठूलो दल’ को हैसियतमा बर्दिवासको होटलमै झिसमिसेमा मुख्यमन्त्रीको शपथ लिए ।

यस घटनाले एमाले भित्रै ठूलो विवाद जन्मायो । कांग्रेस पनि बिच्कियो । प्रदेश प्रमुख र सभामुख दुवै पद एमाले कै कारण गुमेको भन्दै प्रदेश राजनीतिमा एमालेप्रति असन्तुष्टि बढ्दै गएको छ ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय