काठमाडौं,०७ मंसिर । जनता समाजवादी पार्टी (जसपा)का नेता मोहम्मद इस्तियाक राईले संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू बहुमत हासिल गर्न नसकेपछि पार्टी छाडेको टिप्पणी गरेका छन्।
अनलाइनखबरसँग कुरा गर्दै राईले भने, “बहुमत जुटाउन खोज्नु भएको थियो, तर नपुगेपछि पदीय जिम्मेवारी परित्याग गरेको पत्र बुझाएर जानुभएको हो।”
श्रेष्ठसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने प्रक्रिया अगाडि बढेको बताइएको छ। सो सहमति बनेलगत्तै नेता राईले यस्तो प्रतिक्रिया दिएका हुन्।
राईले नेताहरू राजनीतिक रूपमा एक पार्टीबाट अर्कोमा जाने क्रम स्वाभाविक रहेको उल्लेख गर्दै भने, “कसैले ‘डिभोर्स लिन्छु’ भन्यो भने रोक्न मिल्दैन। जेनजी आन्दोलनपछि धेरै ओहोरदोहोर भएका छन्।”
उनका अनुसार जसपा अहिले पनि ध्रुवीकरणको प्रयासमा छ र संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूसँग निरन्तर छलफल जारी छ।
राईले “भोलि वा रातिसम्ममा अर्को समाचार पाउनुहुन्छ” भन्दै पार्टीभित्र थप राजनीतिक चलहलको संकेतसमेत दिएका छन्।





