बारा,०८ मंसिर । बाराको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल नै विजयी भएको छ । सोमबार बिहान ४ बजे सम्पन्न भएको मतगणनामा ११ जनाको नयाँ कार्यसमितिका सम्पूर्ण पदमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल विजयी भएको हो ।
३ दशकसम्म एमालेको नेतृत्वमा रहेको सिमरा खानेपानी पहिलो पटक एमाले विहीन भएको हो । आज बिहान सम्पन्न मतगणनामा अध्यक्षमा युवराज न्यौपाने, उपाध्यक्षमा हरिप्रसाद सिम्खडा, सचिवमा अमृत बस्याल, सहसचिवमा कृष्णकुमार रिमाल, कोषाध्यक्षमा रामकुमार अर्याल, महिला सदस्यहरूमा दिलुमाया तमाङ, सुष्मा पण्डित र खुला सदस्यहरूमा कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्रेष्ठ, जागेश्वर पौडेल सूर्यसिंह क्षेत्री रहेका छन् ।
सो संस्थामा जीतपुर सिमरा उपमहानगरका वडा नम्बर १, २, ३, ४ र ५ का गरी ५ हजार ५ सय उपभोक्ता रहेका छन् । शनिवार भएको निर्वाचनमा अध्यक्षमा एमाले, कांग्रेस, माओवादी सहितका अन्य दलहरूले अध्यक्षमा ५ जना सहित ५२ जना उम्मेदवार उठाएका थिए ।
१६ वर्षसम्म एमाले नेता कासिम हुसेनको नेतृत्वमा रहेको सो संस्थाले ५ वटा वडामा आधा दर्जन खानेपानी ट्ंयाकी निर्माण गरेर उपभोक्ताको घरसम्म सहज ढङ्गले खानेपानीको प्रबन्ध गरेको थियो । करिब ४ करोड नगर मौजाद रकम रहेको सो संस्थामा नेतृत्व लिनेको होडबाजी नै थियो ।
सिमरा कलेजका निवर्तमान प्रमुख सुमन भट्टराईले पाका उमेरका मतदाताहरूले पनि अब नेतृत्वमा परिवर्तन चाहेको र नयाँ अनुहार खोजेको टिप्पणी गरेका छन् । ‘बुढा पाका उमेरका उपभोक्ताहरूले पनि अब परिवर्तन खोजेका छन्, एउटा सफल संस्थाको नेतृत्व पाउनु उहाँहरूको लागि अवसर र चुनौती दुवै हो’ सिमराका कलेजका प्रमुख भट्टराईले भने– ‘निर्वाचित कार्यसमितिले ४ वर्षको लागि इमानदारीपूर्वक काम गरेर देखाउन सक्नुपर्छ’
सिमरा खानेपानीमा घरधनीको नाममा खानेपानीको धारा जडान हुने र धारा नाममा भएको व्यक्ती मात्रै मतदानमा सहभागी हुन पाउने भएकाले जेनजी पुस्ताभन्दा पनि पाका उमेरका उपभोक्ताहरू मतदाता रहेका थिए । यता,सिमरा खानेपानीको निर्वाचन परिणामले अगामी स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनलाई समेत सङ्केत गर्न सक्ने भट्टराईको भनाइ छ ।



