काठमाडौँ,०८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार थापाले लेखेका छन्, ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ ।’
‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’ थापाले फेसबुकमा लेखेका छन् ।
टिकट वितरणकै लागि आफूहरूले निर्वाचन अगाडि महाधिवेशन भनेको थापाले उल्लेख गरेका छन् । ‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौँ,’ थापाले लेखेका छन् ।



